काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नआएसम्म एमालेले तटस्थता नत्याग्ने बताउनुभएको छ ।
नेपालका लागि डेनमार्कका राजदूत मोर्टन जेसपस्रनसंगको भेटवार्तापछि सम्वाददाताहरुसँग कुरा गर्दै अध्यक्ष खनालले राष्ट्रिय सहमतिको चाहना एमालेको मात्र नभई सिङ्गो राष्ट्रको भएको दावी गर्नुभयो ।
अध्यक्ष खनालले ३ करोड नेपालीको शान्ति र संविधानप्रतिको चाहनाका कारण एमाले बहुमतीय प्रक्रियामा सहभागी नभएको स्पस्ट गर्नुभयो । खनाललाई भेट्न राजदूत जेसनपस्रन बिहान साँढे ११ बजे खनाल निवास डल्लु पुग्नुभएको थियो ।
करिब आधाघण्टा भएको भेटमा जारी शान्तिप्रक्रिया, सरकार निर्माण, डेनमार्क सरकारले नेपाललाई दिंदै आएको आर्थिक सहयोग तथा दुई देशबीचको सम्बन्धबारे छलफल भएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।
राजदूत जेसपस्रनले राजनीतिक गतिरोध अन्त्य गरी सहमतिमा संविधान निर्माणमा लाग्न आग्रह गर्नुभएको पनि खनालले जानकारी दिनुभयो ।