समाज विकासका क्रममा देखापरेका अनेकौँ शब्दमा एउटा 'बाहुनवाद' वा 'ब्राह्मणवाद' पनि हो । वस्तुतः यो एउटा प्रवृत्तिलाई भन्न खोजिएको हो, तर त्यसको नामाकरणमा नै गल्ती हुन पुग्दा 'म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो' भनेजस्तो हुनगयो । यहाँ सोझै एउटा जाति विशेषको नाम आएको छ र जातीय विद्वेष फैलाउनमा यो शब्दले पर्याप्त मलजल गरिरहेको पाइन्छ । अब यो छलफलको एउटा पाटो बन्न पुगेको छ ।
नेपालमा 'बाहुनवाद' वा 'ब्राह्मणवाद' शब्दको प्रयोग ज्यादाजसो गैरब्राह्मण, विशेषतः जनजाति आन्दोलनमा सरिक नेता र तिनका समर्थकहरूबाट हुने गरेको पाइन्छ । तर, यो उनीहरूद्वारा नै न्वारान -नामाकरण) भएको नभई भारतबाट शब्द सापटी गरेर ल्याइएको हो । यो शब्दको प्रयोग प्राज्ञिक क्षेत्रमा सन् १९४० मा भारतका समाजशास्त्री मैसुर नरसिंहचर श्रीनिवासले आफ्नो स्नातकोत्तर तहको शोधपत्रमा गरेको र त्यही वेलादेखि ज्यादा प्रचलनमा आएको हो । एकपल्ट भारतमा नै यही कुरालाई 'संस्कृतवाद' वा 'संस्कृटाइजेसन'को नाम पनि दिन खोजिएको थियो तर ब्राह्मणवाद नै स्थापित भयो । यो शब्दको बेर्ना सार्ने काम नेपालमा प्रा. डोरबहादुर विष्टबाट भयो । विवादित पुस्तक 'फ्याटालिज्म एन्ड डेभलपमेन्ट' मा उनले यो शब्दलाई ठाउँ दिएका थिए । ब्राह्मणवाद शब्दको प्रयोग प्राज्ञिक क्षेत्रमा जुन बहसका लागि प्रयोग भएको हो त्यो बहस नेपालमा एकाध प्राज्ञिकहरूले मात्रै चलायो, अरु त गैरप्राज्ञिक क्षेत्रमा यो शब्द 'युज' र 'मिसयुज' हुँदै आइरहेको छ । र ब्राह्मणवादलाई अर्थ्याउने क्रममा यो ब्राह्मण जातिका विरुद्धमा होइन भनेर पटक-पटक नै भन्ने गरिन्छ ।
ब्राह्मण वर्गको नितान्त स्वार्थी, जातीय सर्वसत्तावादी मानसिकता, मनोवृत्ति एवं तद्नुरूप स्थापित तथा सञ्चालित पद्धति भनेर अर्थ्याउन खोजेको पाइन्छ भने कतै जातिपातिको व्यवस्थाको सिद्धान्तहरू र यससँग गाँसिएको सामाजिक सांस्कृतिक संरचना भनिएको छ । यसरी नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एक जात विशेषतः बाहुन र क्षत्री, एक धर्म हिन्दू, एक भाषा नेपाली, एक संस्कृति हिन्दूलाई स्वीकार गर्नु र स्वीकार गर्न लगाउनु नै ब्राह्मणवाद भएको र त्यसलाई नेपाली समाजमा लादिएको र त्यो लाद्ने प्रवृत्ति नै ब्राह्मणवाद भनेर पनि बुझाउन खोजिन्छ । यी अर्थ्याइहरू आफ्नो ठाउँमा छ र त्यसले एउटा प्रवृत्तिलाई शब्द र वाक्यमा अभिव्यक्त गर्ने प्रयास गरेको छ । त्यो प्रवृत्ति समाज विकासमा कुनै पनि हालतमा हितकारी छैन । एउटा पुरातन गैरसमावेशी एवं सीमित स्वार्थमा अडेको त्यो सोचाइले समाजलाई निकै हदसम्म प्रभाव पारेको कुरामा दुइमत हुन्न ।
यही समस्यालाई सम्बोधन गर्ने क्रममा ब्राह्मणवाद' नामाकरण हुन गएको हो । त्यो प्रवृत्तिको विरोध र समस्या निराकरण गर्दै लाने मनसायले सिर्जित शब्द अहिले जातिविशेषलाई गाली गर्ने वा घोचपेच गर्ने हतियारका रूपमा प्रयोग हुनथालेको छ । जहाँ पायो त्यहीँ यो शब्द प्रयोग भइदिँदा अर्थको अनर्थ लाग्न थालेको छ । यस्तो अवस्थामा 'ब्राह्मणवाद'को विरोध गर्नु भनेको बाहुन वा ब्राह्मण जातिकै विरोध भनेर बुझ्नुमा उनीहरूको पनि गल्ती छैन । अन्ततः यो शब्द नै जाति विशेषप्रति द्वेष फैलाउने साधन हुन गएको छ । ब्राह्मणवाद वा बाहुनवाद भनेको कुनै जाति विशेषलाई लक्षित गरेरको होइन प्रवृत्तिलाई मात्रै भन्न खोजेको भनेर पनि ब्राह्मणवादका विरोधिहरू अब स्पष्टीकरण दिँदै हिँड्न थालेका छन्, तर त्यसको प्रभाव न्यून छ ।
ब्राह्मणवादको विरोध बाहुनको विरोध होइन भनेर बुझ्ने मात्रै नभइ बुझाउने पनि क्षमता भएका स्वयं ब्राह्मण वर्गका लेखकहरू नेपाली समाजमा नै पनि छन् । यो प्रवृत्तिले इतर ब्राह्मण मात्रै नभएर स्वयं ब्राह्मणहरू नै पीडित भइरहेको र अन्ततः ब्राह्मणलाई बर्बादीको रसातलमा लैजाने भने उनीहरू चिन्ता व्यक्त गर्दछन् । तर, गलत नामाकरणका कारण अन्य ब्राह्मणहरू 'ब्राह्मणवाद' शब्द सुन्नेबित्तिकै बिच्कन थालिहाल्छन् र चिन्तन गर्ने धैर्य पनि गुमाउँछन्, जुन स्वाभाविक पनि हो ।
जुन प्रवृत्तिलाई ब्राह्मणवाद भन्ने नाम दिइएको छ, त्यो प्रवृत्ति बाहुनमा मात्रै होइन, नेवार, गुरुङ, मगर, तामाङ, राइ-लिम्बू, थारू, थकालीलगायत प्रायः सबै जातजाति तथा जनजातिहरूमा पनि पाइन्छन् । केही वर्षअघि नेवारभित्रको यो प्रवृत्तिका सम्बन्धमा लेख्नुपर्दा लेखको शीर्षक नै 'नेवारभित्र मौलाएको बाहुनवाद' राखेको थिएँ । जसरी बाहुनवादले स्वयं बाहुनहरू पीडित छन्, त्यसरी नै नेवारभित्रको त्यही प्रवृत्तिले स्वयं नेवारहरू पीडित छन् । यो लेखक नेवार समुदायको सदस्य हो र समाजभित्रका कतिपय कुराहरू तत्तत् समाजका सदस्यहरूले जति अरूले बुझ्न गार्हो हुने गर्दछ । जसरी समग्र समाजमा एउटा प्रवृत्तिका कारण नेपाली समाज नै आक्रान्त छ, त्यस्तै प्रवृत्तिका कारण अन्य समाजभित्र पनि आन्तरिक समस्याहरू छन् । नेवार समाज मुख्यतः जातिवाद र क्षेत्रीयतावादले आक्रान्त छन् ।
ब्राह्मणवाद भनेको प्रवृत्तिलाई भनेको हो, जातिविशेषलाई भन्न खोजिएको होइन भनी अरूलाई बुझाउन पाण्डित्याइँ गर्ने नेवार पण्डितहरू त्यही प्रवृत्ति आफ्नो नेवार समाजमा लाद्न मन पराउँछन् र त्यसैमा गर्व पनि गर्दछन् । अब त्यस प्रवृत्तिलाई नेवारवाद किन नभन्ने ? उहिले यससम्वन्धी लेख लेख्दा 'नेवारभित्र मौलाएको बाहुनवाद' राखेको थिएँ तर ब्राह्मणवादको ठाउँमा 'नेवारवाद' राख्दा पनि उपयुक्त नै हुँदो रहेछ भन्ने महसुस भएको छ । एउटा प्रवृत्ति जुनजुन जातिमा देखिँदै गयो त्यही त्यही जातिको नाममा नामाकरण गर्दै जाने हो भने गुरुङवाद, तामाङवाद, थारूवाद, क्षत्रीवाद, मगरवाद, थकालीवादजस्ता हजारौँ वादहरू आउँछन् । जसले इस्यूलाई अन्त्यै मोड्ने काम मात्रै गर्छ । त्यो प्रवृत्तिलाई 'नेवारवाद' भनेर नामाकरण गर्दा कुन चाहीँ नेवारको चित्त दुख्दैन होला - यही कुरा अन्य जातजातीय समूहमा पनि लागू हुन्छ । यदि यस्तो हो भने बाहुन वा ब्राह्मणले मात्रै सहनुपर्छ भन्ने छैन । बाहुनको विरोध गरेको होइन, बाहुनवादको विरोध गरेको भन्ने स्पष्टीकरण नेपालको सन्दर्भमा म्याद नाघेको औषधि भइसकेको छ र त्यसैमा अझैँ पनि लिँडेढिपी गरिराख्नुको अर्थ छैन ।
एउटा सार्वजनिक समारोहमा 'ब्राह्मणवाद' भन्ने शब्द प्रयोग नगरौँ भन्ने कसैको आग्रहलाई त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको तर्क थियो, 'ब्राह्मणहरूको सर्वसत्तावादका कारण हामी सदियौँदेखि पीडित हुँदै आउने, जम्मै कुरा सहने, तर 'ब्राह्मणवाद' भन्ने एउटा शब्द पनि सुन्न नसक्ने ? विगतमा गरेको गल्तीको दण्ड तिनका सन्तानले केही भोगेर के भयो र ?' तर, यो न तर्कसंगत छ न त न्यायोचित नै । समाधानमुखी त झनै होइन । ब्राह्मणवाद यदि एउटा प्रवृत्तिको नाम हो भने यसको नाम फेर्दा भोलि त्यस प्रवृत्तिविरुद्ध स्वयं ब्राह्मणहरू नै भारि मात्रामा उभिने हो भने कसलाई के आपत्ति ? तर, वादको नामाकरणमा जातीय नाम जोडिएकै कारणले यसमा आकर्षित हुनेहरूसँग भने सतर्क हुनै पर्दछ ।
maharjan_basanta@yahoo.com