अमेरिकामा सरकारको आर्थिक नीतिविरुद्ध जारी वालस्ट्रिट आन्दोलनका क्रममा सोमबार २० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
वासिंटन डिसीस्थित एक पार्कमा भएको आन्दोलनका क्रममा ती व्यक्तिहरू पक्राउ परेका हुन् । अमेरिकाबाट सुरु भएको यो आन्दोलन अहिले अधिकांश अमेरिकन मुलुकलगायत विश्वव्यापी रूपमा सुरु भएको छ ।
अक्युपाई वाल स्ट्रिट मोभमेन्ट अर्थात् वालस्ट्रिट औद्योगिक नगर कब्जा, नाम दिइएको आन्दोलन सेप्टेम्बर १७ तारिखबाट सुरु भएको थियो जसले ९९ प्रतिशत अमेरिकी जनताको प्रतिनिधित्व गरेको दाबी गरिरहेको छ भने अहिले विश्वव्यापी बनिरहेको छ । बेलायत स्पेन, फ्रान्स, इटालीलगायत एसियाका कैयौँ सहरहरूमा अहिले यो आन्दोनको प्रभावमा प्रदर्शन भइरहेका छन् ।
अमेरिकी अर्थ व्यवस्थाले १ प्रतिशत उद्योगपतिको पक्षपोषण गरेको र ९९ प्रतिशत जनतालाई बेवास्था गरेको भन्दै आन्दोलन सुरु भएको हो । विश्वको शक्ति राष्ट्र कहलाएको अमेरिकामा पनि धनी र गरिबबीचमा दूरी बढिरहेको छ । सरकारको नीति र कार्यक्रमले गरिब र मध्यम वर्गीय अमेरिकी नागरिकलाई समेटेको छैन । १ प्रतिशत धनीका लागि अमेरिकी सरकार ९९ प्रतिशत जनतालाई बेवास्ता गरिरहेको प्रदर्शनकारीको आरोप छ ।
यसैगरी नै अमेरिकी सडकमा सबै जाति, भाषा, धर्म र लिंग अनि सबै राजनीतिक चिन्तनहरूको साझा आन्दोलन छाएको छ । अहिले १५० भन्दा बढी अमेरिकी सहरमा आन्दोलनको हुरी चलेको छ । भने विश्वका कैयौँ देशहरूले समेत वालस्ट्रिट मोभमेन्टको समर्थनमा आन्दोलन सुरु गरिसकेका छन् ।
प्रदर्शनकारीहरूका अनुसार अमेरिकी आर्थिक संकटको मूल कारण वालस्ट्रिट औद्योगिक नगरका १ प्रतिशत उद्योगीहरू हुन् जसलाई अमेरिकी युद्ध मोहले बढवा दिइरहेको छ । भ्रष्टचारले अमेरिकालाई अझैँ गाँजिरहेको छ, तर सरकार भने मौन छ ।
सन् २०१२ मा हुने राष्ट्रपतीय निर्वाचनमा यो प्रदर्शनलाई राजनीतिक दाउपेचका रूपमा लिइँदैछ । हाल अमेरिकी अर्थनीति रिपब्लिकन पार्टीका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस सरकारको देन हो । अनि इराक र अफगान युद्ध पनि बुसकै पालामा सुरु भएको थियो । प्रदर्शनकारीले जुन नीतिको विरोध गरेका छन्, ती रिपब्लिकन पार्टीका हुन् ।
यता, राष्ट्रपति बाराक ओबामाले आन्दोलनको समर्थन गरेका छन् । आन्दोलनले अमेरिकी जनताको आर्थिक नीत्रि्रतिको असन्तुष्टि व्यक्त गरेको उनले प्रतिक्रिया दिएका छन् । त्यसैगरी आन्दोलनकारीको मुख्य उद्देश्य वा माग भन्नु नै एक नागरिक एक रोजगारी, अनि एक डलर, एक भोट रहेको छ । आर्थिक संकटलाई बढाएर विश्वमा राजनीतिक स्थायित्व खोज्ने अमेरिकी नीति नै गलत भएको, अमेरिकी सरकारले आर्थिक संकटको बोझ ९९ सय प्रतिशत जनताकै काँधमा बोकाउने गरेको अनि १ प्रतिशत धनाढ्यहरूलाई झन् धनी बनाएको समेत प्रदर्शनकारीको आरोप छ । प्रदर्शनकारीले उनीहरूको आन्दोलन यही असमानताका विरुद्ध भएको बताएका छन् ।
अमेरिका उद्योगी र उपभोक्ता अनि धनी र गरिबबीचको खाडलमा फसिरहेको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा २ हजारभन्दा बढी पक्राउ परिसकेका छन् । विश्वलाई प्रजातन्त्र र समानताको पाठ पढाउने अमेरिका आफ्नै जनतालाई समानताको अनुभूति दिलाउन असफल भइरहेको छ । त्यसैले अमेरिकी सडकमा जनताको आक्रोश पोखिँदैछ । जसको परीणाम के-हुने हो आगामी दिनले पक्कै पनि उजागर पार्नेछ ।
-एजेन्सीको सहयोगमा