इन्द्रेणी सांस्कृतिक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
अमेरिकाको टेक्सास राज्यस्थित आफ्नै सभाकक्षमा जनवरी २१ मा विशेष कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रम उदघाटन र बन्द गरी दुइ सत्रमा बाँडिएको थियो । कार्यक्रमको उदघाटन भने संघकी निवर्तमान अध्यक्ष सरिता भट्टले गरेकी थिइनन् । संघका निवर्तमान कोषध्यक्ष चन्द्रमणि पाण्डेले भने दुई वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।
सोही साधारणसभाबाट संघले आठबुँदे घोषणापत्र जारी गर्दै नयाँ विधान पारित गरेको छ । पास गरिएको नयाँ विधानअनुसार ११ सदस्यीय कार्यसमिति र ११ सदस्यीय संरक्षक परिषद् रहने व्यवस्था गरिएको छ । यी दुवै समितिको कार्यावधि भने दुई वर्ष मात्रै तोकिएको छ ।
कार्यक्रमको उदघाटनसत्रमा टेक्सासमा रहेका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले सम्मेलन सफलताको शुभकामना दिएका थिए भने बन्दसत्रबाट ११ सदस्यीय कार्यकारी समिति र ११ सदस्यीय संरक्षक परिषदका सबै सदस्य निर्विरोध निर्वाचित भएका थिए ।
नवनिर्वाचित सदस्यहरूलाई निर्वाचन कमिटीका संयोजक चन्द्रमणि पाण्डेले शपथ खुवाएका थिए । नेत्र पाण्डेको अध्यक्षतामा गठित नवनिर्वाचित कार्यसमितीको उपाध्यक्ष, महासचिव, सचिव तथा कोषध्यक्षमा क्रमशः देवी आचार्य, तारा भुसाल, यमुना भट्टराइ र युवराज खनाल रहेका छन् ।
यस्तै कार्यसमिति सदस्यहरूमा जीवराज बुढा, जगदीश न्यौपाने, कृष्ण पाण्डे, भट्ट लेकाली, प्रदीप तिमल्सिना र राजेश लामिछने छन् ।
संघकी निवर्तमान अध्यक्ष सरिता भट्टको नेतृत्वमा नवनिर्वाचित संरक्षक परिषदका सदस्यहरूमा जनक राना, भीम कार्की, सुशील क्षत्री, कमल ओझा, चन्द्रमणि पाण्डे, कृष्ण भण्डारी, गोकर्ण दाहाल, सिपी रेग्मी, चेतनाथ भट्टराई र नन्द रेग्मी रहेका छन् ।