प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा
January 27 2012
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाको म्याद अन्तिमपटक थप्न सकिने सर्वोच्च अदालतको निर्णय पुनरावलोकन निवेदनमाथि गरेको दरपीठ आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
भट्टराइले सर्वोच्चमा दिएको निवेदनमा पुराना तीन वटा पुनरावलोकन निवेदनलाई उदाहरण दिएर पुनरावलोकन माग गरिएको छ । निवेदनमा, ध्रुव कोइरालाविरुद्ध तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, मोहनलक्ष्मी मास्केविरुद्ध आन्तरिक राजस्व कार्यलय भरतपुर र प्रदीपप्रताप बमविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रिटहरूमाथि पुनरावलोकन भएको र आफ्नो पनि त्यही प्रकृतिको मुद्दा भएकोले दरपीठ खारेज गर्न माग गरिएको छ ।
निवेदनमा, संविधानले व्यवस्था गरेका समकक्षी निकायको संवैधानिक र राजनीतिक उत्तरदायित्व पूरा नहुँदै त्यस्तो निकायको अस्तित्वमा आँच आउनेगरी व्याख्या भएबाट संविधान वा कानुनको व्याख्यामा अन्योलताको स्थिति आएको भनिएको छ ।
पछिल्लोपटक थपिने संविधानसभाको म्याद अन्तिम हुनुपर्ने, थपिएको ६ महिनामा पनि संविधान नबने संविधानसभा विघटन हुने भनी सर्वोच्च अदालतले गत मंसिर ९ गते गरेको फैसला पुनरावलोकन गर्न माग गरी सर्वोच्चमा दिइएको निवेदन सर्वोच्च प्रशासनले गत पुस १२ गते दरपीठ गरेेको थियो ।
संविधानसभाको म्यादसम्बन्धी मुद्दाको अन्तिम किनारा लागि सकेको भन्दै सर्वोच्च प्रशासनले पुनरावलोकन माग गर्दै दिइएको निवेदन अस्वीकार गरेको थियो । सर्वोच्च अदालतबाट मुद्दा फैसला भएको मितिले ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन दिनसकिने प्रावधान छ ।
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।